नेकपा (एमाले) की पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी करिब १० वर्षपछि एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन्।
राष्ट्रपति बनेपछि उपाध्यक्ष पदबाट राजीनामा दिएकी भण्डारी आइतबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेकी हुन्। उनको आगमनमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र कार्यालय सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए।
भण्डारी च्यासल पुगेको केही समयपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यालय पुगेका छन्। त्यसपछि भण्डारी र ओलीबीच छलफल सुरु भएको छ।
भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति निर्वाचित भएकी थिइन् भने दोस्रो कार्यकाल पूरा गरी २०७९ फागुनमा शीतलनिवासबाट बाहिरिएकी थिइन्।
हालै भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि एमालेभित्र उनको भूमिकाबारे पक्ष–विपक्षमा बहस हुँदै आएको छ। सदस्यता नवीकरण तथा पार्टी सक्रियतामा सहभागिताबारे विवाद भएपछि यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिइएको थियो।
यसै सन्दर्भमा अध्यक्ष ओलीसँग संवाद गर्न भण्डारी च्यासल पुगेकी हुन्। एमालेभित्र रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने वा नपर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद देखिँदै आएको छ।

