स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न एक महिना बितिसक्दा पनि प्रक्रिया टुंग्याउन सकेको छैन।
जेठको दोस्रो साता स्वास्थ्य मन्त्री प्रदिप पौडेलको संयोजकत्वमा गठन गरिएको सर्च कमिटीले उपकुलपति छनोटका लागि ४ असारमा आवेदन मागेको थियो।
पाटन, पोखरा, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त भएपछि माग गरिएको आवेदनमा ५५ वटा निवेदन परेका थिए। तर, दोहोरो आवेदनसमेत परेकाले वास्तविक आवेदकको संख्या ४५ रहेको छ।
कुनै व्यक्तिले चारवटै प्रतिष्ठानका लागि आवेदन दिएका छन् भने चार जनाले दुई–दुई वटा प्रतिष्ठानमा आवेदन दिएका छन्।
सर्च कमिटीमा मन्त्री पौडेलसँगै राष्ट्रिय योजना आयोगका स्वास्थ्य सम्बन्धी सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन्।
हालकाे अवस्था अनुसार प्रतिष्ठानहरू निमित्त पदाधिकारीकै भरमा सञ्चालन भइरहेका छन्। स्वास्थ्य सचिव तथा सिफारिस समितिका सदस्य डा. देवकोटाले आवेदकहरूको विवरण संकलन र छनोटको काम भइरहेको जनाउँदै चाँडै सिफारिस प्रक्रिया अगाडि बढाइने बताएका छन्।
