राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेन भ्रमणको सन्दर्भमा गम्भीर प्रश्न उठाउँदै, त्यही भ्रमणको बहानामा गएका केही व्यक्ति स्वदेश नफर्किएको समाचारबारे छानबिन हुनुपर्ने माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त विषय अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै सरकारलाई जिम्मेवार ढंगले छानबिन गर्न आग्रह गरिन्।
“प्रधानमन्त्री स्वयं सहभागी कार्यक्रममा बाहानाबाजी गर्दै गएकाहरू नफर्किएको समाचार सार्वजनिक भइरहेका छन्,” उनले भनिन्, “हामी कसैलाई लक्षित गरेर आरोप लगाएका होइनौं, तर यस्ता गम्भीर विषय उपेक्षा गर्न मिल्दैन।”
सांसद गौतमले भिजिट भिसा दुरुपयोगबारे सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै संसद् बैठकबाट बहिष्कारको घोषणा पनि गरिन्।
उनले सरकारद्वारा गठन गरिएको छानबिन समितिलाई “टालटुले” भन्दै आलोचना गरिन्। “स्वार्थ बाझिने र अयोग्य व्यक्तिको नेतृत्वमा बनेको, आफैँभन्दा कनिष्ठ कर्मचारीहरू मात्र राखिएको समितिबाट निष्पक्ष छानबिन सम्भव छैन,” गौतमको भनाइ थियो।
उनले जोड दिइन् कि यस्ता संवेदनशील मुद्दामा उच्चस्तरीय, स्वतन्त्र र प्रभावकारी छानबिन आयोग गठन गर्नु अत्यावश्यक छ।
सांसद गौतमले फरक प्रसंगमा देशका विभिन्न भागमा बाढीले पुर्याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित गरिनुपर्ने माग पनि गरिन्।
उनको भनाइमा, “जनताको जिउधन र नेपालको अन्तर्राष्ट्रिय छविमा प्रत्यक्ष असर पार्ने यस्ता विषयमा सरकारसँग आवश्यक इच्छाशक्ति छैन, त्यसैले हाम्रो पार्टी संसद् बहिष्कार गर्न बाध्य भएको हो।”
