तिब्बतबाट आएको भीषण बाढीका कारण नेपाल–चीन सीमामा अवस्थित रसुवाको मितेरी पुल बगाएको छ। यो पुल बगेसँगै दुई देशबीचको स्थलगत आवागमन सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले पुलसँगै नेपालतर्फ ठुलो जनधनको क्षति पु¥याएको प्रारम्भिक जानकारी छ, यद्यपि क्षतिको यकिन विवरण भने आउन बाँकी नै छ।
२०७६ साल जेठमा सञ्चालनमा आएको यो पुल चिनियाँ सहयोगमा निर्माण गरिएको थियो। तिब्बती इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एन्ड ब्रिजले जम्मा पाँच महिनामै ११० मिटर लम्बाइ र ९ मिटर चौडाइको पुल निर्माण सम्पन्न गरेको थियो।
पुल बगेसँगै नेपाल–चीन व्यापार र यात्रु आवागमनका लागि महत्वपूर्ण रहेको रसुवागढी नाका ठप्प भएको छ।
अब यो पुल पुनर्निर्माण कसले गर्ने र लागत कसले व्यहोर्ने भन्ने विषयमा अन्योल छ। स्थायीत्व र आपतकालीन तयारीको सन्दर्भमा समेत यस्ता पूर्वाधार पुनर्निर्माणमा छिटो निर्णय आवश्यक रहेको आवाज उठ्न थालेको छ

