पर्वत जिल्लाको फलेवास नगरपालिका–४, मुडिकुवा थुमीस्थित एक व्यवसायिक कृषि फार्ममा आगलागी हुँदा स्थानीय किसान डिलबहादुर कुँवरको गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।
नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीका अनुसार राति आकस्मिक रूपमा भएको आगलागीबाट गोठमा रहेका सामग्रीहरू पूर्ण रूपमा नष्ट भए पनि गोठमा बाँधिएका चौपाया भने समयमै सुरक्षित स्थानमा सार्न सफल भएका थिए।
कुँवर लामो समयदेखि व्यवसायिक रूपमा बाख्रापालन गर्दै आएका थिए। उनको गोठमा एक भैंसी र २२ वटा बाख्रा राख्ने गरिएको थियो। आगलागीको सूचना तुरुन्तै थाहा पाएपछि चौपायालाई गोठबाट बाहिर निकाल्न भ्याइएको उपप्रमुख क्षेत्रीले जानकारी दिइन्।
उनले भनिन्, “भैंसीको दाम्लो काटेर निकालिएको रहेछ, बाख्रा पनि खोरबाट निकाल्न सकिएको रहेछ। तर गोठभित्र रहेको दाना, पराल, दाउरा लगायतका सबै सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्।”
नगरपालिकाको कार्यालयदेखि करिब डेढ किलोमिटर टाढा रहेको स्थानमा आगलागी हुँदा पनि नजिकै दमकलको सुविधा नहुनु अत्यन्त दुःखद भएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्।
स्थानीय शिक्षक ओमकार पौडेलले भने, “दमकलको अभावमा बाल्टीमा पानी बोकेर आगो निभाउनुपर्ने अवस्था आउँछ। यस्तो व्यवस्थाले उद्धारमा खटिनेहरू पनि जोखिममा पर्छन्, त्यसैले पालिकामा कम्तीमा एउटा दमकल तयारी अवस्थामा हुनैपर्छ।”
स्थानीयवासीहरूका अनुसार कृषिमा आधारित ग्रामीण जीवनशैलीमा गोठ केवल पशुपालनको थलो मात्र नभई किसानको जीवन, भविष्य र आशाको आधार हो। यस्तो संवेदनशील संरचना जोगाउन पालिकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने उनीहरूको माग छ।
पालिकाले तत्कालीन राहतका साथै दीर्घकालीन सहयोग उपलब्ध गराउने तयारी भइरहेको उपप्रमुख क्षेत्रीले बताएकी छन्। अब बाख्रालाई सुरक्षित तरिकाले राख्न चुनौती बढेको भन्दै उनले पालिका किसानसँगै रहेको स्पष्ट पारिन्।
