उपसभामुख इन्दिरा राना मगरले बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारसँग अपिल गरेकी छन्।
रसुवाको टिमुरेलगायत भोटेकोसी नदी आसपासका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएकोप्रति सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गर्दै उनले सबै सरकारी संयन्त्र, राजनीतिक दल, संघसंस्थाहरू र नागरिक समाजलाई आपतकालीन स्थितिमा एकजुट भएर काम गर्न आह्वान गरिन्।
उनले भनिन्, “बाढीले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छु। यस्ता प्राकृतिक विपत्तिको कठिन घडीमा उद्धार र राहत कार्यका लागि सबै संयन्त्र तुरुन्त सक्रिय हुनु आवश्यक छ। साथै, आगामी जोखिम न्यूनीकरणका लागि पनि उच्च सतर्कता अपनाइनुपर्छ।”
उपसभामुख रानाले विपद्को बेलामा सबैलाई एक भएर सहयोग गर्न अपिल गर्दै सम्बन्धित निकायहरूलाई सजग र उत्तरदायी बन्न आग्रह गरेकी छन्।
