उपभोक्ता अदालतको पछिल्लो फैसलाप्रति असन्तुष्टि जनाउँदै चिकित्सकहरूले आज पनि देशभर आकस्मिक र सघन उपचारबाहेकका सेवा बन्द गरेका छन्। नेपाल चिकित्सक संघको नेतृत्वमा भइरहेको आन्दोलन अन्तर्गत सोमबारदेखि देशभरका अस्पतालमा सामान्य सेवा अवरुद्ध पारिएको हो।
संघका अध्यक्ष डा. अनिल कार्कीले मुलुकभरका अस्पतालहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण उपचार सेवा बन्द गरिएको जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनलाई थप प्रभावकारी बनाउने क्रममा मंगलबार काठमाडौं उपत्यकाका चिकित्सक माइतीघर मण्डलामा भेला भएका छन् भने उपत्यका बाहिरका चिकित्सकहरू सम्बन्धित शाखामा धर्नामा बसेका छन्।
डा. कार्कीले आन्दोलनलाई सशक्त बनाउन चिकित्सकहरूले आफ्नो लाइसेन्स र प्रमाणपत्र इमेलमार्फत संकलन गरी मंगलबार साँझ मेडिकल काउन्सिललाई बुझाउने तयारी गरेको बताएका छन्।
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको दाबी गर्दै यसविरुद्ध आन्दोलन चर्काएको हो। अदालतले ओम अस्पताल, हिमाल अस्पताल, ग्रान्डी सिटी अस्पताल र सम्बन्धित चिकित्सकहरूलाई करोडौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेपछि संघले यसलाई चिकित्सकको पेसामाथि गम्भीर आक्रमण भनेको छ।
यता, आन्दोलनका कारण दैनिक चार लाखभन्दा बढी बिरामी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको बताइएको छ। जनस्वास्थ्य विज्ञहरूका अनुसार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सेवा ठप्प पारेर जनस्वास्थ्यमा खेलवाड गर्नु गैरजिम्मेवार कार्य हो।
स्वास्थ्य संस्थामा बन्द, घेराउ, वा हड्ताल गर्न नहुने, उपचारमा अवरोध पु¥याउने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजायको कानुनी व्यवस्था भए पनि चिकित्सक संघ आफैंले बनाएको उक्त कानुन विपरीत अस्पताल सेवा बन्द गर्दै आएको भन्दै आलोचना हुँदै आएको छ।
