रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ अन्तर्गत पर्ने रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीले बेपत्ता बनाएका १८ जनाको परिचय खुलाइएको छ। सशस्त्र प्रहरी बलका अनुसार बेपत्ता भएकामध्ये तीन जना प्रहरी, नौ जना नेपाली सर्वसाधारण तथा ६ जना चिनियाँ नागरिक छन्।
बाढी चीनतर्फको निरन्तर वर्षाका कारण आएको हो। वर्षासँगै लेन्दे नदीमा पानीको बहाव बढ्दा नेपाल–चीन अन्तर्राष्ट्रिय नाका नजिकै काम गरिरहेका तथा बसोबास गरिरहेका व्यक्ति बाढीको चपेटामा परेका हुन्।
बेपत्ता प्रहरीहरूमा इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत रामेछापका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराका प्रहरी जवान मुन्ना ठाकुर र बझाङका प्रहरी जवान लोकेन्द्र बोहोरा रहेका छन्।
बेपत्ता चिनियाँ नागरिकमा यू यी, ली ह्वासिङ, याङ चुआन, यू हैहाङ, यू सिओ क्यु र जोउ योङ रहेका छन्। त्यस्तै, नेपाली नागरिकतर्फ बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारू, लक्ष्मीनारायण थारू र सुरेश थारू, बाग्लुङका नरेन्द्र बिक, सिन्धुपाल्चोकका फुर्वा लामा (सवारी चालक), गोविन्द मोक्तान (मिक्चर चालक) र लोकमान तामाङ (हाइलक्स चालक) रहेका छन्।
हालैको बाढीपछि उद्धार र खोजी कार्य तीव्र पारिएको छ भने घटनाको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ।
