रसुवामा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको मूल्यांकन र आवश्यक कदम तय गर्न सरकारद्वारा आकस्मिक बैठक बोलाइएको छ।
केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको संयुक्त बैठक मंगलबार दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने तय भएको हो।
सोमबार राति आएको बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। हालसम्म १८ जना बेपत्ता भएका छन् भने सयभन्दा बढी सवारीसाधन रसुवागढी भन्सार क्षेत्रबाट बगाएको अनुमान गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजनाहरू प्रभावित भई करिब २ सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।
सरकारले बाढीपीडितहरूको उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। बैठकबाट थप रणनीति र कार्ययोजना तय हुने अपेक्षा गरिएको छ।
