नेपाली कांग्रेसले रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनमा पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा बाढीका कारण तीन प्रहरीसहित १५ जना नागरिक बेपत्ता भएको घटनालाई अत्यन्त पीडादायक र गम्भीर भनिएको छ।
नेपाल–चीन जोड्ने मितेरी पुल तथा भन्सार क्षेत्रमा रहेका कन्टेनर र सवारीसाधन बगाउँदा करोडौँको आर्थिक क्षति भएको उल्लेख गर्दै कांग्रेसले उद्धार र राहतलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
वर्षायाममा नियमित रूपमा बाढी र पहिरोको जोखिम झेल्नुपर्ने अवस्थालाई स्मरण गराउँदै, गत वर्ष असोज १२ मा पनि बेमौसमी विपत्तिको सामना गर्नु परेको उदाहरण दिँदै कांग्रेसले विपद् व्यवस्थापनका लागि तीनै तहको सरकारलाई योजनाबद्ध र एकताबद्ध भएर खटिन आग्रह गरेको छ।
साथै, नागरिक स्तरबाट पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै कांग्रेसले सबैलाई सजग र संवेदनशील बन्न सार्वजनिक अपिल गरेको छ।
