उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।
चौदण्डीगढी–६ कालीखोलाका ३० वर्षीय सुरज राईको शव फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले जानकारी दिएका छन्।
उनका अनुसार सोमबार सुरज राई आफ्ना साथीहरू प्रताप राई र सुरेश माझीसँग त्रियुगा नदीमा गएका थिए। साथीहरू नुहाइरहँदा सुरज भने माछा मार्दै थिए। त्यही क्रममा उनी नदीमा बेपत्ता भएका थिए।
हिजोदेखि खोजी कार्य भइरहेकोमा आज सशस्त्र प्रहरी बलको टोलीले भत्किएको पुल क्षेत्रबाट सुरजको शव फेला पारेको हो। हाल शवलाई पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको प्रहरीले जनाएको छ।
