नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकमा क्षमता केवल कर्मचारीमै सीमित ठान्ने प्रवृत्तिले गम्भीर क्षति पु¥याएको बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको सानेपामा जारी बैठकमा बोल्दै उनले पार्टीभित्रै उच्च शिक्षित, पीएचडी गरेका, डाक्टर, इन्जिनियरलगायत विविध क्षेत्रमा दक्ष व्यक्तिहरू हुँदाहुँदै पनि उनीहरूलाई उपयोग नगर्नु दुखद रहेको बताए।
‘हामीले क्षमता केवल कर्मचारीमा मात्र किन देख्छौँ?’ भन्दै उनले प्रश्न गरे, ‘पार्टीमा यति धेरै योग्य मानिसहरू हुँदा पनि हामी ठ्याक्कै कर्मचारीमै सीमित हुन्छौँ, जसले काम बिगारेको छ।’
सिटौलाले अझै पनि पञ्चायतकालीन सोच बोकेका, नयाँ भिजन नभएका कर्मचारीहरूमार्फतै प्रशासन चलाइँदै आएको बताए। निजामती कर्मचारीसम्बन्धी विधेयकमा कांग्रेस पक्षका सांसदहरूले ध्यान नदिएको र विधेयकमा गोप्य रूपमा गरिएको संशोधनसम्बन्धी जानकारी समेत नपाएको उल्लेख गर्दै उनले पार्टीको गम्भीर लापरबाही रहेको टिप्पणी गरे।
उनले भने, ‘हाम्रो तर्फबाट विधेयक लाइन–लाइन पढ्ने काम नै भएन, कर्मचारीप्रति अत्यधिक भर परियो। तर परिवर्तन ल्याउने भनिएको प्रशासनले फेरि पुरानै लयमा काम गरिरहेको छ भने, अब उनीहरूमाथि विश्वास गर्ने आधार के बाँकी रहन्छ?’
सिटौलाले परिवर्तनको नाममा संरचना मात्र फेरिएको भए पनि प्रणाली चलाउने प्रशासन परिवर्तन गर्न नसकिएको बताए। उनले न्याय, संविधान, नीति निर्माण, कार्यान्वयन र समग्र राज्य सञ्चालनमा गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
‘संविधान बलियो बनाएर मात्र हुँदैन, त्यसअनुसार काम हुने व्यवस्था चाहिन्छ। हामीले क्षमता केबल कर्मचारीमा देख्ने सोचबाट बाहिर निस्कनुपर्छ,’ उनले भने।
