काठमाडौँ — नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले जापानमा भिजिट भिसाको नाममा विगत एक दशकदेखि हजारौँ नेपालीहरूबाट ठूलो रकम असुली गरेको गम्भीर आरोप लगाएका छन्।
शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले विगत १० वर्षदेखि जापान पठाउने क्रममा कम्पनीले अर्बौँ रुपैयाँ संकलन गरेको दाबी गर्दै, त्यसै पैसाको आधारमा संसदसम्मको प्रतिनिधित्वसमेत भएको आरोप लगाए।
उनले नाम नलिईकन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसदहरूलाई लक्षित गर्दै निष्पक्ष छानबिनको माग गरे।
“यो विषय गम्भीर छ,” खतिवडाले भने, “निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ र दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्छ।”
साथै, संसदमा अरू माननीय सदस्यले धारणा राख्न खोज्दा नारा लगाउने प्रवृत्तिको पनि अन्त्य हुनुपर्नेमा उनले जोड दिए। “एकले कुरा राख्दा सुन्ने र अर्काले राख्दा हल्ला गर्ने संस्कार ठीक होइन,” उनले भने, “यसले सदनको गरिमा घटाउँछ।”

