काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिन्थलीमा खसेको लेदोसहितको पहिरोका कारण आइतबार बिहान अबरुद्ध भएको वीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार डोजरको सहायताले पहिरो पन्छाइएपछि राजमार्ग यातायातका लागि खुलाइएको हो ।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत खुकोर्टबाट कटारीतर्फ जाने सडकखण्ड पनि पहिरोका कारण तीन ठाउँमा अवरुद्ध भएको थियो । ती सबै ठाउँमा पहिरो हटाइएपछि अहिले सडक सञ्चालनमा आएको सुवेदीले जानकारी दिएका छन् ।
