प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रता जस्ता संवेदनशील विषयमा निर्णय गर्नुपूर्व आफ्नै क्षेत्राधिकारप्रति स्पष्ट हुन सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।
बिहीबार अध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा बसेको काउन्सिल बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “काउन्सिलले आफूले तोकिएको अधिकार र कर्तव्यभित्र रहेर जिम्मेवारी निर्वाह गर्दै आएको हुँदा कुनै भ्रममा नपर्न र निर्णय लिँदा क्षेत्राधिकारको स्पष्टता कायम राख्न हामी सम्बद्ध सरोकारवालाहरूसँग पुनः अनुरोध गर्छौं।”
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा प्रेस काउन्सिल ऐनमा समयानुकूल संशोधन आवश्यक रहेको उल्लेख गर्दै पत्रकारिता तथा सञ्चार क्षेत्रमा देखापरेका नयाँ चुनौतीहरूलाई गम्भीरतापूर्वक हेर्ने प्रतिबद्धता जनाइएको छ।
स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिता प्रवर्द्धनका लागि काउन्सिलले आफूले वहन गर्ने भूमिकामा अझ सक्रियता देखाउने स्पष्ट संकेत विज्ञप्तिमार्फत गरिएको छ।
