भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि ३२ लाख रुपैयाँ घुस लिएको अडिओ सार्वजनिक हुँदा राजनीतिक विवाद चर्किएको छ।
पोखराको बाटुलेचौर क्षेत्रको १३४ रोपनी जग्गा दर्ता गर्न सेटिङमा मन्त्री अधिकारीले सो रकम घुसस्वरूप लिएको भन्ने अडिओ बाहिर आएको हो।
यसअघि पनि भूमि आयोग कास्कीको अध्यक्ष पदका लागि २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख सरूवाको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लिएको सम्बन्धी अडिओ सार्वजनिक भइसकेको थियो, जसका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुपरेको थियो।
यसै अडिओमा पनि मन्त्री अधिकारीले पैसा लिएको भनिएको आवाज सुनिएको थियो।
घुष लेनदेनमा मन्त्री अधिकारीका छोरा मनोज अधिकारी र मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेलको पनि नाम जोडिएको छ।
मन्त्री अधिकारीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक अडिओ आफूले बोलेको नभएको र चरित्र हत्या गर्न खोजिएको बताएका छन्।
उनले भने, “अडिओमा उल्लेख भएका व्यक्तिहरू हाम्रो मन्त्रालयसँग वा मसँग सम्बन्धित छन् कि छैनन् भन्ने कुरा स्पष्ट पत्ता लगाउनुपर्छ। त्यो अडिओमा मैले बोलेको छैन। मेरा छोरोलाई पनि फसाउने प्रयास भएको छ। यो चरित्र हत्या गर्ने प्रवृत्ति हो।”
उनले पोखराका मालपोत अधिकृतको सरुवा रोक्न आफूले आग्रह गरेको तर अरूले आफ्नो लक्ष्य पूरा गर्न प्रयास गरेको पनि बताएका छन्।
