पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बालुवाटार र च्यासलको नेतृत्वको आलोचना गर्दै सत्ता संरचना भ्रष्टाचारमा संलग्न आफ्ना सगोत्रीलाई जोगाउने भूमिकामा देखिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका यादवले भ्रष्टाचार आरोपित भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको राजीनामा माग नगरिएको प्रसंग उठाउँदै, बालुवाटार र च्यासलमा ‘बा’ को राज रहुन्जेल सगोत्रीहरूलाई छुट भइरहने टिप्पणी गरेका हुन् ।
यादवका अनुसार सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा दिएका राजकुमार गुप्ता मधेस मूलका भएकाले उनलाई पदबाट हटाउन दबाब दिइएको हो भने बलराम अधिकारीलाई भने सत्ता संरक्षण गरिरहेको छ ।
उनले भनाइमा थपेका छन्, “यदि बलराम अधिकारीको स्थानमा मधेसी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए प्रधानमन्त्रीले राजीनामा गराउन एकछिन पनि ढिला गर्ने थिएनन् ।”
यादवको आरोप अनुसार भ्रष्टाचारमा मुछिए पनि सत्तामा नजिकका सगोत्रीहरू जोगिने अवस्था कायम रहेको छ ।
