नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । बैठकमा साउन २ र ५ गते बोलाइएको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीबारे छलफल हुँदैछ ।
गत माघ ८ गते बसेको सचिवालय बैठकले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसैको तयारी स्वरूप पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो ।
यस्ता बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेस गरिनेछ । राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने सचिवालयले निर्णय गरिसकेको छ ।
विधान संशोधनतर्फ अहिलेको तयारी अनुसार ७० वर्षे उमेरहद र अध्यक्ष पदमा कार्यकालको सीमा नराख्ने प्रस्ताव अघि सारिने छ । एमालेमा नवौं महाधिवेशनपछि कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद लागू गरिएको थियो भने दसौं महाधिवेशनपछि पनि यही व्यवस्था कायम थियो । तर, २०८० जेठमा बसेको सचिवालय बैठकले समाजवादी पार्टी फर्किएका नेताहरूलाई पुनः समावेश गर्न उक्त प्रावधान स्थगन गरेको थियो, जसलाई पछि केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।
त्यस्तै, लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवारी दिन नपाइने प्रावधान महाधिवेशनमा पारित भए पनि दसौं महाधिवेशनपछि यो व्यवस्था हटाइएको छ । यसबारे स्थायी कमिटी सदस्य कर्ण थापाले विधान छाप्दा छलछामपूर्वक हटाइएको आरोप लगाएका छन् भने महासचिव पोखरेलले भने केन्द्रीय कमिटीले संशोधन गरी अनुमोदन गरेको जिकिर गर्दै आएका छन् ।
