सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मानिस छोडिएको भन्ने आरोप लगाएकी सांसद स्वयंले नै आत्मालोचना गरेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री ओलीको टोलीसँगै स्पेन गएका सबै व्यक्ति फर्किएको स्पष्ट पारे। उनले भ्रम फैलाइएको भन्दै सांसद स्वयम्ले पनि आफ्नो भनाइ सच्याइसकेको बताए।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही व्यक्ति नफर्किएको आरोप लगाएकी थिइन्। तर, भोलिपल्टैको संसद बैठकमा उनले आफूले त्यस्तो आरोप नलगाएको स्पष्ट पार्दै आत्मालोचना गरेकी थिइन्।
सरकारले भने संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन गएका तर सरकारी सूचीमा नरहेका र सम्भवतः नफर्किएका केही व्यक्तिका बारेमा अनुसन्धान सुरु गरिसकेको छ।
मन्त्री गुरुङका अनुसार, प्रधानमन्त्रीको टोलीमा सहभागी हुनेको संख्याबारे स्पष्ट आचारसंहिता रहेको र त्यसअनुसार नै टोली गठन भएकाले भ्रम फैलाउनु उचित नहुने बताए।
