सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मानिस छोडिएको भन्ने आरोपमा सांसदले नै आत्मालोचना गरेको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीसँगै गएका व्यक्तिहरू नफर्किएको भन्ने आरोप आधारहीन रहेको प्रस्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्री ओलीसँग गएका केही मानिसहरू स्पेनमै छोडिएको दाबी गरेकी थिइन्। तर, उनले अर्को दिन संसद बैठकमै आफैँले त्यस्तो भनाइ नगरेको भन्दै प्रष्ट्याएकी थिइन्।
सरकारले भने प्रधानमन्त्री सहभागी कार्यक्रमसँग असम्बन्धित रूपमा भिजिट भिसामा गएका र नफर्किएका व्यक्तिहरूको विषयमा अनुसन्धान अघि बढाइसकेको जानकारी दिएको छ।
प्रधानमन्त्रीको टोलीमा संलग्न सबै सदस्य फर्किएको दाबी गर्दै मन्त्री गुरुङले भ्रम फैलाइएको र त्यस विषयमा सांसद गौतमले आफैँ आत्मालोचना गरिसकेको उल्लेख गरे।
त्यसैगरी, मन्त्री गुरुङले संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन स्पेन गएका तर सरकारी सूचीमा नरहेका केही नेपालीबारे अनुसन्धान भइरहेको समेत जानकारी दिए।
