भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमै विद्युतीय सवारीसाधन उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौं महानगर यातायात प्रालिले सुरु गरेको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा उनले नेपालमा विद्युतीय सवारीको प्रयोग तीव्ररूपमा बढ्दै गएकाले अब यहाँ नै उत्पादन गर्न आवश्यक रहेको बताएका हुन् ।
‘नेपालमै ईभी कारखाना स्थापना भए स्पेयर पार्ट्स पनि यही उत्पादन हुने र गाडीको मूल्य समेत घट्नेछ,’ उनले भने, ‘यस क्षेत्रमा लगानी गर्न सबैलाई आह्वान गर्दछु ।’
उनका अनुसार साना सवारीसाधनहरूको सट्टामा विद्युतीय सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्छ । इन्धन आयातका कारण ठूलो विदेशी मुद्रा बाहिरिने भएकाले विद्युतीय सवारीले त्यसलाई रोक्न टेवा पुग्ने उनले उल्लेख गरे ।
‘सार्वजनिक यातायातमा काठमाडौं महानगरपालिकाले सुरु गरेको विद्युतीय सेवा स्वागतयोग्य छ । काठमाडौं जस्तो शहरमा पार्किङ समस्या भएकाले साना गाडी घटाउनु जरुरी छ,’ शर्माले भने ।
उनले विदाको दिन आफू पनि महानगर यातायात प्रयोग गर्ने गरेको उल्लेख गर्दै सार्वजनिक यातायातलाई भरपर्दो, सुरक्षित र वातावरणमैत्री बनाउनेमा जोड दिए ।
यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सार्वजनिक यातायात सुधारका लागि सरकारद्वारा गठन गरिएका कार्यदलका प्रतिवेदन कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाए ।
‘यदि ती प्रतिवेदन व्यवहारमा उतारिएको भए अहिले सार्वजनिक यातायातमा देखिएका धेरै समस्या समाधान भइसक्थे,’ उनले बताए ।
अध्यक्ष स्वाँरले रुट व्यवस्थापनसँगै सार्वजनिक यातायात नीतिमा सुधार नगरे अस्वस्थ प्रतिस्पर्धा बढ्ने भन्दै त्यस्तो अवस्था व्यवसायीको लगानीका लागि खतरा हुने चेतावनी दिए ।
