बैंकिङ कसुरको मुद्दामा विवादास्पद ठेकदार मनोज भेटवाल पक्राउ परेपछि सोही प्रकरणमा उजुरी दिने राजकुमार बरालसमेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार बरालविरुद्ध पनि उजुरी परेको पुष्टि गर्दै उनलाई पक्राउ गरिएको हो । अधिकारीले भने, “उहाँमाथि उजुरी परेकोले नियन्त्रणमा लिई सरकारी वकिलसमक्ष पेश गरिएको थियो । तर, म्याद थप नभएकाले हाजिरी जमानतमा रिहा गरिएको छ । अनुसन्धान भने जारी नै छ ।”
प्रहरीले करिब पाँच दिनअघि मनोज भेटवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर, स्वास्थ्य समस्याको कारण देखाउँदै उनी अस्पताल भर्ना भएका थिए । त्यसपछि उनीमाथि हिरासत म्याद थप नभएपछि छुटेका थिए ।
अनुसन्धानका क्रममा करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा भेटवालले मिटर ब्याजमा रकम दिएको दाबी गर्दै राजकुमार बरालविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले बरालको खोजी गरी पक्राउ गरेको हो ।
यसअघि भेटवालका सहयोगी नरेश कुमार चेङवाङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । चेङवाङ जलेश्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत रहेको जनाइएको छ ।
मनोज भेटवाल यसअघि २०७७ फागुन २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गामा अवैध रूपमा ४० वटा सटर निर्माण गरी कब्जा गरेको आरोपमा पक्राउ गरेको थियो ।
उनलाई यसअघि पनि ठगी, बैंकिङ कसुर, हुन्डी कारोबार, विदेशी मुद्रा अपचलन तथा सरकारी जग्गा दुरुपयोगका विभिन्न मुद्दामा मुछिँदै आएको आरोप छ । विद्यासुन्दर शाक्य मेयर हुँदा उनले काठमाडौं महानगरका कैयौं ठेक्का हात पारेका थिए ।
