नेकपा (एमाले) ले आउँदो भदौमा हुने दोस्रो विधान महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ ।
उनका अनुसार साउन २ र ५ गते तोकिएको पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकको तयारीस्वरूप सचिवालय बैठक डाकिएको हो ।
एमालेले यसअघि माघ ८ गते बसेको सचिवालय बैठकबाट भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसकै पूर्वतयारीस्वरूप पार्टीले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत आह्वान गरेको हो ।
महाधिवेशनका लागि राजनीतिक, सांगठनिक तथा विधान संशोधनसम्बन्धी प्रस्तावहरू पेश हुने तयारी छ । यी प्रस्तावमध्ये राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने निर्णय सचिवालयले गरिसकेको छ ।
विधान संशोधन प्रस्तावमा अध्यक्षको कार्यकाल र उमेरहदका विषयमा वर्तमान व्यवस्थालाई यथावत् राख्ने तयारी गरिएको छ । एमालेमा ७० वर्षे उमेरहदको प्रावधान नवौं महाधिवेशनपछि लागू भएको थियो, जुन २०७८ को दसौं महाधिवेशनपछि पनि निरन्तर रहेको थियो । तर, २०८० जेठमा बसेको सचिवालय बैठकले पार्टीमा पुनः प्रवेश गरिएका नेताहरूलाई स्वागत गर्न उक्त व्यवस्था स्थगित गरेको र त्यसलाई पछि केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।
यस्तै, अध्यक्षका लागि लगातार दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाइने प्रावधान दसौं महाधिवेशनअघिसम्म विधानमा भए पनि त्यसपछि हटाइएको छ । यसबारे स्थायी कमिटी सदस्य कर्ण थापाले विधान छपाइका क्रममा छलछाम गरेर हटाइएको दाबी गर्दै आएका छन् । तर महासचिव पोखरेलले भने केन्द्रीय कमिटी बैठकमार्फत् संशोधन भई महाधिवेशनको बन्द सत्रले नै अनुमोदन गरेको दाबी गरेका छन् ।
