नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरको कोइराला निवासलाई कुनै गुट विशेषको केन्द्र नभई कांग्रेस परिवारका लागि साझा “पवित्र भूमि” भएको बताएका छन् । मंगलबार विराटनगर पुगेका नेता खाँणले बुधबार बिहान कोइराला निवास भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, “यो स्थान धार्मिक स्थलजस्तै श्रद्धायुक्त छ, यसलाई गुटीय राजनीति सँग जोडेर हेर्नु हुँदैन ।”
नेपाली राजनीतिमा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अतुलनीय योगदानको स्मरण गर्दै उनले उनीहरू नेपाली जनताको हृदयमा वास गर्ने महामानव भएको बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाको सफलतामा नै पार्टीको सफलता निर्भर रहेको उल्लेख गर्दै उनले सबैले सभापतिलाई सफल बनाउन एकजुट हुनुपर्ने धारणा राखे ।
महाधिवेशनको विषयमा उनले पार्टी विधानअनुसार विशेष परिस्थिति भएमा एक वर्ष म्याद थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने स्पष्ट पारे । विगतमा १४ औँ महाधिवेशन पनि म्याद थपेर गरिएको उल्लेख गर्दै उनले १५ औँ महाधिवेशन पनि निर्धारित समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उम्मेदवारीबारे सोधिएको प्रश्नमा उनले आफू हाल केन्द्रीय समितिमा सक्रिय रहेको र महाधिवेशन सम्पन्न गराउने भूमिकामा रहने बताएका छन् । “पार्टीको नेतृत्व गुटभन्दा माथि उठेर छानिनुपर्छ,” उनको भनाइ छ ।
सरकार सञ्चालनबारे उनले वर्तमान जनादेशले कुनै दललाई स्पष्ट बहुमत नदिएकाले गठबन्धन अपरिहार्य भएको बताए । कांग्रेस र एमालेबीचको गठबन्धन नयाँ नभएको उल्लेख गर्दै उनले विगतमा पनि सहकार्य हुँदै आएको स्मरण गराए ।
सरकारका ‘पढ्दै कमाउँदै’ कार्यक्रम र हरित हाइड्रोजन परियोजनालाई सकारात्मक कदम भन्दै खाँणले गठबन्धनभित्रै बसेर कमीकमजोरी सच्याउने प्रयास भइरहेको बताए । “यो गठबन्धनलाई २०८४ को निर्वाचनसम्म कायम राख्दै कमीकमजोरी सुधार्दै जानुपर्छ,” उनले स्पष्ट पारे ।
पार्टी अनुशासन समितिले गरेका कारबाहीबारे उनले त्यो प्रक्रिया अनुसार भएको भन्दै अन्तिम निर्णय केन्द्रीय समितिले समीक्षा गरेर लिने जानकारी दिए ।
