नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार संसद्मा बोल्दै सरकारका कामकारबाहीप्रति आलोचना गरेका थिए। उनले कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणमा ढिलाइ भएको भन्दै प्रश्न उठाएका थिए।
उनको सम्बोधनको केही घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काउँदै प्रचण्डले उठाएको प्रश्नमा प्रतिक्रिया जनाएका छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न गर्नु भएछ— कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट, खोई प्यारापिट? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोलहरू पनि हेर्न जानुस्। बनिरहेको छ।”
ओलीले प्रचण्डमाथि काम नगरेको आरोप पनि लगाउँदै थप लेखेका छन्, “तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा समयसीमा तोक्नुभयो, न त स्पष्ट योजना बनाउनुभयो। मैले भने दिन तोकेर योजना अघि सारेँ, आफैंमाथि प्रश्न उठ्न दिने हिम्मत गरेँ, अनि काम पनि गरेँ।”
ओलीले अर्थतन्त्र सुधारको विषयमा समेत प्रचण्डलाई तथ्यांक हेर्न सुझाएका छन्।

