तनहुँको व्यास नगरपालिका–१ अम्रेनीस्थित पृथ्वीराजमार्गमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्की घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकको बायाँपट्टि रोकी राखिएको बा १ क ८७१४ नम्बरको मिनिट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा व्यास नगरपालिका–१२ छिर्कन निवासी करिब २५ वर्षीय सागर न्यौपाने र करिब ६० वर्षीया कृष्णमाया पन्त घाइते भएका थिए। उपचारका लागि रत्नहरी अस्पताल पठाइएका न्यौपानेको उपचारकै क्रममा दिउँसो १२:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते पन्तलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन्।
