काठमाडौं उपत्यकामा विभिन्न समयमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
ट्राफिक प्रहरी कार्यालय, काठमाडौं उपत्यकाले आइतबार आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।
धनीले कार्यालयमा दिएको निवेदनका आधारमा खोजी गर्दा केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै फेला परेका थिए भने केहीमा नक्कली नम्बर प्लेट राखिएको पाइएको छ। यी सवारी साधन काठमाडौंका नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाउँ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँ बसपार्क, बसुन्धरा र थली लगायतका स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले जानकारी दिएअनुसार, आज फिर्ता गरिएका २० वटा सहित पछिल्लो एक महिनामा मात्रै ४८० वटा चोरी वा हराएका सवारी साधन फेला पारेर धनीलाई जिम्मा लगाइसकिएको छ।
