नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविना एमालेको कल्पना गर्नेहरू प्रतिक्रियावादी तत्व भएको टिप्पणी गरेका छन्।
झापामा आयोजित पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले “एमालेविनाको देश र ओलीविनाको एमाले” चाहनेहरूको चाहना कहिल्यै पुरा नहुने दाबी गरे।
उनले पार्टीका कतिपय नेताहरूले लामो समयसम्म जिम्मेवारी र लाभ लिइसकेपछि स्वार्थका आधारमा विगतमा विभाजन र षड्यन्त्रको प्रयास गरेको आरोप लगाए। तर कार्यकर्ता र जनताको साथले एमालेलाई फेरि राष्ट्रिय शक्ति बनाउन सकिएको उनको भनाइ थियो।
ओलीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अघि बढेमा कसैले पनि एमालेलाई हराउन नसक्ने बताए। “एमाले साना स्वार्थ बोकेको पार्टी होइन, यो देश बनाउन तयार बलिदानीहरूको संगठन हो,” उनले भने।
उनले विपक्षी शक्तिहरूले भ्रम फैलाउने प्रयास गरे पनि त्यसमा नपर्न कार्यकर्तालाई आग्रह गरे। “माकुरोको जालोमा भैंसी कहिल्यै पर्दैन,” भन्दै उनले विरोधीहरूको प्रचारप्रति व्यंग्य गरे।
ओलीले आफ्नो नेतृत्वको सरकार कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्दै, “केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन,” भने।
उनले हालैको स्पेन भ्रमण सफल रहेको भन्दै त्यसको विरोध गर्नेहरूले यथार्थ स्वीकार्न नचाहेको आरोप लगाए। उनले भने, “वाईसीएल प्रयोग गरेर भ्रमणमा मान्छे छाडियो भन्ने झूटो प्रचार गर्नेहरू केवल बदनाम गर्न चाहन्छन्।”
ओलीका अनुसार फलामखानी, पेट्रोलियम उत्खनन र सुरुङमार्ग निर्माणजस्ता ठूला योजना एमाले नेतृत्वमा सुरु भएका हुन् र तिनको प्रतिफल क्रमशः देखिन थालेको छ।
