ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माण हुन लागेको ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणका लागि विद्युत उत्पादन अनुमतिपत्र प्रदान गरेको छ।
आइतबार ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण प्रसाद आचार्यलाई अनुमतिपत्र हस्तान्तरण गर्दै आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
वर्षौँदेखि अनुमति प्रक्रिया रोकिँदा निर्माण अघि नबढ्दा लगानीकर्ता र सञ्चयकर्ताहरूमा निराशा बढेको थियो। ऊर्जामन्त्री दीपक खड्काको पहलपछि भारतीय अप्पर कर्णाली हाइड्रोपावरसँग समन्वय गर्दै अन्ततः अनुमति प्रदान गरिएको ऊर्जा सचिव आचार्यले जानकारी दिए।
कार्यक्रममा आयोजनास्थलका जनप्रतिनिधि, कर्णाली र सुदूरपश्चिम प्रदेशका सांसदहरू पुष्प बहादुर शाह, शेरबहादुर कुँवर र ह्रदयराम थामीको उपस्थिति रहेको थियो।
आयोजनाको कुल अनुमानित लागत करिब ९३ अर्ब रुपैयाँ रहनेछ। कर्मचारी सञ्चयकोष, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडले क्रमशः १५, १० र १० प्रतिशत लगानी गर्नेछन्। बाँकी लगानी ४० प्रतिशत राष्ट्रसेवक कर्मचारी तथा सञ्चयकर्ताबाट, र २५ प्रतिशत स्थानीय तथा सर्वसाधारणबाट जुटाइनेछ।
अब निर्माण कार्य तत्काल सुरू गरी आगामी पाँच वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वित्तीय व्यवस्थापन चुनौतीपूर्ण भए पनि प्रमुख संस्थागत लगानीकर्ताहरूको सहभागिताले आयोजना सफलतापूर्वक सम्पन्न हुने विश्वास गरिएको छ।
