ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूका लागि अब अनलाइनमार्फत सचेतना कक्षा सञ्चालन हुने भएको छ। देशभरका ट्राफिक प्रहरी युनिटहरूले यस प्रणालीलाई अपनाउँदै डिजिटल माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्।
गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा अनलाइन कक्षा शुभारम्भको घोषणा गर्ने कार्यक्रम रहेको छ।
हालसम्म मापसे, रातो बत्ती उल्लङ्घन, लेन क्रस र ओभर स्पिड गर्ने चालकहरूलाई शारीरिक रूपमा उपस्थित भई कक्षा लिनुपर्ने व्यवस्था थियो। अब यो प्रक्रिया सहज बनाउन अनलाइन प्रणाली विकास गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार अनलाइन कक्षा लिने चालकहरू ‘नागरिक एप’मा आबद्ध हुनु अनिवार्य हुनेछ। “नागरिक एपमार्फत चालकले सजिलै घरमै बसेर कक्षा लिन सक्ने व्यवस्था मिलाइएको छ,” एसएसपी अधिकारीले बताए।
कोरोना महामारीका बेला उपत्यका ट्राफिक प्रहरीले परीक्षणका रूपमा अनलाइन कक्षा सञ्चालन गरेको अनुभवलाई आधार बनाउँदै अब पूर्ण रूपमा यो प्रणाली लागू गर्ने तयारी गरिएको हो।
