राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै दुवै दलका सांसदहरू उठेर विरोध जनाएका थिए।
सभामुखले पहिलो अवसर रास्वपाकी सांसद सुमना श्रेष्ठलाई दिएका थिए। श्रेष्ठले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनका लागि समिति गठनको माग गर्दै माग पुरा नहुन्जेल सदनमा निरन्तर विरोध जारी राख्ने बताइन्।
पछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिइयो। उनले पनि समितिको गठन नभएसम्म सदनमा विरोध जारी राख्ने स्पष्ट पारे।
दुवै दलका सांसदहरू आ–आफ्नो भनाइ राखेपछि बैठक कक्षबाट बाहिरिएका थिए।
