राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता नवराज सुवेदी अनुशासन समिति अध्यक्षबाट हटाइएको विषयमा निर्वाचन आयोग पुगेका छन्। आइतबार बिहान पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शम्शेर राणा, कुन्ती शाहीसहित असन्तुष्ट नेताहरूको समूह सुवेदीसँगै आयोग पुगेको हो।
सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा आफूलाई अनुशासन समिति अध्यक्ष पदबाट हटाइएको विषयमा आयोगमा औपचारिक उजुरी दिएका छन्। असार २५ गते अध्यक्ष लिङ्देनले सुवेदीलाई हटाउँदै उपाध्यक्ष रोशन कार्कीलाई नयाँ अनुशासन समिति अध्यक्षमा मनोनीत गरेका थिए।
त्यही दिन सगुनसुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट पनि हटाइएको थियो। यी निर्णयहरू पार्टीको केन्द्रीय समिति बिना नै गरिएको र विधानविपरीत भएको असन्तुष्ट पक्षको आरोप छ।
तर अध्यक्ष लिङ्देनले भने सबै नियुक्ति पार्टी विधान अनुसार भएको दाबी गर्दै असहयोग नगर्न चेतावनी दिएका छन्। “विधानअनुसार अध्यक्षलाई पदाधिकारी मनोनीत गर्ने अधिकार छ,” भन्दै उनले भने, “काम गर्न अवरोध होइन, गल्ती देखिए महाधिवेशनमा निर्णय होस्।”
नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गरिएको थियो। सो समितिले असार १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको भए पनि अहिले त्यो कार्यक्रम फितलो भएको देखिएको छ। सुवेदीले सो आन्दोलनमा सक्रिय भइरहँदा राप्रपाको साधारण सदस्यता पनि त्यागेको दाबी गरेका थिए।
