राजसंस्था पुनर्स्थापनाका पक्षधर वयोवृद्ध नेता नवराज सुवेदी आइतबार निर्वाचन आयोगमा उजुरी लिएर पुगेका छन्। राप्रपाको अनुशासन समिति अध्यक्ष पदबाट आफूलाई हटाइएको भन्दै उनले आयोगमा गुनासो दर्ता गराएका हुन्। सुवेदी हाल ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक पनि हुन्।
यसअघि आन्दोलन परिचालन समिति गठन हुँदा उनले पार्टीको जिम्मेवारी छाडेको बताएका थिए। तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रोशन कार्कीलाई अनुशासन समितिको नयाँ अध्यक्ष नियुक्त गरेपछि सुवेदी असन्तुष्ट बनेका हुन्।
राप्रपाको इतर धारका नेताहरूको साथमा सुवेदी आइतबार बिहान ११ बजेपछि आयोग पुगेका थिए। उनीसँगै महामन्त्री धवलशमशेर राणा लगायतका नेताहरू पनि सहभागी थिए। लट्ठीको सहारामा आयोग पुगेका सुवेदीको उपस्थितिले राप्रपाभित्रको आन्तरिक विवाद झनै सतहमा आएको देखिएको छ।
