स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको, युवा जनशक्तिको पूर्ण उपयोग हुन नसकेको र विभिन्न जनसाङ्ख्यिकीय चुनौतीहरू देखिन थालेका कारण राष्ट्रिय जनसङ्ख्या नीति–२०८२ ल्याएर समाधानको बाटो सुरु गरिएको बताएका छन्।
विश्व जनसङ्ख्या दिवस तथा नीति सार्वजनिक कार्यक्रममा मन्त्री पौडेलले भने, “यो नीति केवल जनसङ्ख्याको सङ्ख्या मात्र होइन, जनताको चाहना, अधिकार र सामाजिक आवश्यकतासँग पनि जोडिएको छ। जनसङ्ख्याको अवस्था नकारात्मक दिशामा अघि बढिरहेको हुँदा प्रजनन अधिकारको संरक्षण गर्दै सन्तुलित जनसङ्ख्या संरचना कायम गर्न यो नीति तयार पारिएको हो।”
उनले थपे कि तीनै तहको सरकारसँग समन्वय गरी नीति प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। जनसङ्ख्याको बनावट, वितरण र संरचनाबाट उत्पन्न अवसर र चुनौतीहरू समाधान गर्न राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालका युवा पुस्ताको सपना पूरा गर्न सबै पक्षलाई एकजुट हुन आह्वान गरे।
कार्यक्रममा जनसङ्ख्या व्यवस्थापन महाशाखाका सहसचिव ढुण्डिप्रसाद निरौलाले नीति कसलाई, कहिले र के सेवा दिने भन्ने विषयमा जानकारी दिनुभयो। उनले भने, “यस नीतिले युवा पुस्तालाई सशक्त बनाउन, जनसङ्ख्यिक लाभांशको सदुपयोग गर्न, असन्तुलित बसाइसराइ र अव्यवस्थित बसोबासलाई सन्तुलनमा ल्याएर गाउँ र पहाडका खाली बस्तीलाई विकाससँग जोड्ने काम गर्नेछ।”
यस नीतिले समृद्ध राष्ट्र निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

