काठमाडौं — नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनरावलोकन गर्दै पुनर्गठनका लागि ६ बुँदे रूपरेखा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक सन्देशमा उनले माओवादी आन्दोलनको मूल्याङ्कन गर्दै नयाँ राजनीतिक सोचको आवश्यकता औंल्याएका हुन्।
डा. भट्टराईले माओवादी आन्दोलन सफल भएको भए पनि विभिन्न कारणले स्खलन भएको उल्लेख गर्दै अबको चुनौती विगतका गल्तीहरूबाट पाठ सिक्दै नयाँ युगको सन्दर्भमा वैचारिक, राजनीतिक र सांगठनिक रूपान्तरण गर्नु पर्नेमा जोड दिएका छन्।
उनले माओवादी आन्दोलन कमजोर हुनुमा नेताहरूको विभाजन मात्र नभई रणनीतिक अस्पष्टता, निर्णयमा ढुलमुलपन र वैचारिक जडताको आलोचना गरेका छन्। साथै, उनले तत्कालीन नेतृत्वको नीतिगत भ्रम, पालुङटार र सिकुटेम बैठकमा देखिएको निर्णयहीनता, तथा संविधान जारी गर्ने अवसर गुमाउनु आन्दोलनको ऐतिहासिक गल्ती भएको उल्लेख गरेका छन्।
भट्टराईका अनुसार नेपालको माओवादी आन्दोलन सापेक्षिक रूपमा सफल भए पनि पूर्ण सफलता नपाउनुका पछाडि गलत नेतृत्व निर्णय र परिस्थितिको सही मूल्याङ्कनको अभाव मुख्य कारक हुन्।
उनले नयाँ ढंगको समाजवादी रूपान्तरणका लागि अब पुराना ढाँचाको माओवाद मात्र पर्याप्त नहुने भन्दै चौथो औद्योगिक क्रान्तिको युग अनुसार सोच, रणनीति र राजनीतिक संरचना पुनर्संयोजन आवश्यक भएको औंल्याएका छन्।
भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि नयाँ विचार, नयाँ शक्ति र सिर्जनात्मक पहल आवश्यक भएको र यही मर्मअनुसार आफूले अघि सारेको नयाँ शक्ति अभियानको औचित्य देखिएको बताएका छन्।
यस खाकाले आगामी वाम राजनीतिको दिशा निर्धारण गर्न सक्ने सम्भावना बोकेको भन्दै उनले माओवादी र अन्य वामपन्थी धारका नेताहरूलाई गहिरो समीक्षा र पुनःनिर्माणको आह्वान गरेका छन्।
