नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले देशभर बढ्दै गइरहेको महिला हिंसा र विभत्स हत्याका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बालिकादेखि वृद्धासम्म असुरक्षित महसुस गर्नुपर्ने स्थिति राष्ट्रका लागि लज्जास्पद भएको बताउँदै, तत्कालीन जिल्ला महिला तथा बालबालिका कार्यालय खारेज भएपछि ग्रामीण क्षेत्रका महिलाहरू थप असुरक्षित महसुस गरिरहेको उल्लेख गरिन्।
महिला सशक्तीकरणका कार्यक्रमको पहुँच नहुँदा महिलाहरूको अवस्था झनै जटिल बन्दै गएको बताउँदै सांसद सापकोटाले संघीय निजामती सेवा ऐन संशोधन गरी महिला विकास अधिकृत र राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत पदमा महिलाको आन्तरिक प्रतिस्पर्धात्मक सहभागिता सुनिश्चित गर्न माग गरिन्।
साथै, उनले महिला सशक्तीकरण र सुरक्षा सुनिश्चित गर्न सरकार गम्भीर रुपमा लाग्नुपर्ने आवश्यकता औंल्याएकी छन्। नीतिगत सुधार र संरचनात्मक सुदृढीकरणमार्फत मात्र महिलाको अवस्था सुदृढ बनाउन सकिने उनको भनाइ थियो।
