शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा विभिन्न दलका सांसदहरूले बाढी, पहिरो र सुख्खाको मारमा परेका जनताको पीडामा सरकारको ध्यान पुर्याउन माग गरेका छन्।
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मितेरी पुल भासिएको घटनालाई स्मरण गर्दै कतै बाढी, कतै सुख्खा जस्ता विपद्ले जनतालाई प्रभावित बनाएको बताए। मधेश प्रदेशले सुख्खा क्षेत्र घोषणा गरिसकेको भन्दै उनले संघीय सरकारलाई प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन आग्रह गरे।
नेकपा माओवादी केन्द्रकी सांसद मनरुपा शर्माले नारायणघाट–बुटवल सडक खण्डको दयनीय अवस्थाबारे बोल्दै वर्षा सुरु भएपछि सडक भासिने समस्या देखिएको र यसले जनजीवन प्रभावित भएको उल्लेख गरिन्।
त्यसैगरी, नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले प्रत्येक वर्ष वर्षायाममा सर्वसाधारणले दुःख पाउने क्रम दोहोरिएको भन्दै समस्या समाधानका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
माओवादी केन्द्रकै सांसद रेणु चन्दले विकास निर्माणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै, “के मान्छे मरेपछि मात्रै सरकारको ध्यान जान्छ?” भन्ने प्रश्न उठाइन्।
त्यस्तै, सांसद विष्णुबहादुर विश्वकर्माले कर्णाली करिडोरमा रहेको सडक अवरोध तत्काल हटाउन सरकारसँग आग्रह गरे। सांसदहरूको सामूहिक जोड बाढी, पहिरो र प्राकृतिक विपद्ले पिडित जनतालाई तत्काल राहत र दीर्घकालीन समाधान उपलब्ध गराउनेतर्फ केन्द्रित रह्यो।
