नेपाल सुनचाँदी व्यवसायी महासंघले आठ दिनपछि पुनः सुनचाँदीको मूल्य निर्धारण सार्वजनिक गरेको छ। असार १९ गतेदेखि जारी आन्दोलनका कारण मूल्य नतोकेको महासंघले शुक्रबारदेखि मूल्यसूची प्रकाशित गरेको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ तोकिएको छ, जुन असार १९ गतेको तुलनामा ३०० रुपैयाँले कम हो। त्यतिबेला सुनको मूल्य तोलामा १ लाख ९२ हजार १०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने वृद्धि भएको छ। शुक्रबार चाँदी तोलामा २ हजार २२० रुपैयाँ पुगेको छ, जुन अघिल्लो मूल्य २ हजार १७० रुपैयाँभन्दा ५० रुपैयाँले बढी हो।
विलासिता करको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरू बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि पुनः व्यवसायमा फर्किएका हुन्।
बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सुन र सुनका गहना विलासिता करको दायरामा राखिएको विषयमा अध्ययन गरी पुनरावलोकन गर्न सिफारिस गरिने सहमति भएको थियो।
यसका लागि राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिनेछ, जसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंकका प्रतिनिधि र महासंघका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यदलको सचिवालय अर्थ मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखामा रहनेछ।
