नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। शुक्रबार बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेपछि दिउँसो १२:२० बजे सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले जानकारी दिएका छन्।
उनका अनुसार मौद्रिक नीतिको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन र राष्ट्र बैंकको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ। चालु आर्थिक वर्षको मौद्रिक नीतिको समग्र समीक्षा गर्दै, अन्तर्राष्ट्रिय आर्थिक अवस्था तथा देशको वर्तमान आर्थिक परिदृश्यलाई ध्यानमा राखी नयाँ नीति ल्याउन लागिएको हो।
यो सम्भवतः पहिलो पटक हो जब राष्ट्र बैंकले आर्थिक वर्ष सुरु हुनुअगावै असार महिनामै मौद्रिक नीति ल्याउन लागेको छ। सामान्यतया, मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिने गरिन्छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार सम्हालेपछि यो उनको कार्यकालको पहिलो मौद्रिक नीति हुनेछ।
