मंगलबार बिहान चीनतर्फबाट आएको आकस्मिक बाढीले रसुवागढी क्षेत्रको सडक र नेपाल–चीन सिमानामा रहेको मितेरी पुलमा गम्भीर क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्थित क्षेत्रमा बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो जनधनको क्षति भएको हो।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजनाअन्तर्गत सब-इञ्जिनियर रूपनारायण पौडेलका अनुसार टिमुरे, लिङलिङ, रोंगा लगायतका क्षेत्र गरी झण्डै १,१०० मिटर सडक अति संवेदनशील रूपमा क्षतिग्रस्त भएको छ। उनका अनुसार १०–११ स्थानमा गाडी पास गर्नै नसकिने अवस्था छ। सडक मर्मतको काम हाल स्याफ्रुबेशीतर्फबाट सुरू गरिएको छ, जहाँ तीनवटा एक्स्काभेटर परिचालन भएका छन्।
पौडेलले बताएअनुसार कतिपय स्थानमा आवतजावत गर्नसमेत मुस्किल छ। त्यसैले फिल्डमा नापजाँच गर्न कठिनाइ भइरहेको छ। केही स्थानमा त नदी किनारामा पर्खाल लगाएर बाटो पुनःनिर्माण गर्नुपर्ने अवस्था छ भने कतै ब्रेकरमार्फत सडक उठाउनुपर्ने बाध्यता देखिएको छ
नेपाल–चीन सीमामा रहेको मितेरी पुलमा पनि गम्भीर क्षति पुगेको छ। सो पुल सन् २०७६ जेठमा चिनियाँ सहयोगमा निर्माण गरिएको थियो। अहिले पुलको फाउन्डेसन नै क्षतिग्रस्त भएकाले पुनःनिर्माणका लागि चीन सरकारसँग समन्वय आवश्यक देखिएको सडक विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए। तत्कालका लागि बेलिब्रिज (अस्थायी पुल) निर्माण गरेर आवागमन सहज बनाउने प्रयास भइरहेको छ।
पक्की पुल निर्माण गर्न कम्तीमा ५–६ महिना लाग्ने देखिएकाले, बेलिब्रिज एक महिनाभित्र निर्माण गर्न सकिने पौडेलको भनाइ छ। तर हाल सडक विभागसँग भएका बेलिब्रिज उपकरण सो क्षेत्रमा लैजान अझै कठिन छ, किनभने पहिरोका कारण बाटो नै अवरुद्ध छ।
सडक मर्मतका लागि हाल चार जना प्राविधिक र तीनवटा एक्स्काभेटर परिचालनमा छन्। तर, खराब भूगोल, पहिरो र बाढीले गर्दा उपकरण पुर्याउनसमेत कठिनाइ भइरहेको छ। स्याफ्रुबेशी नजिकको रुङ्गा खोलाको पुल मर्मतपछि मात्र माथिल्लो क्षेत्रमा थप उपकरण सञ्चालन गर्न सकिने जनाइएको छ।
सडक विभागको योजना दसैँअघि नै सबै मर्मत कार्य सम्पन्न गरी नाका सञ्चालनमा ल्याउने हो। यद्यपि मौसम, भूगोल र जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै सुरक्षालाई प्राथमिकता दिँदै काम भइरहेको छ।
