नेपाली कांग्रेसको डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहले पार्टी अनुशासन समितिले २३ जना नेतामाथि गरेको कारबाहीको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ।
बिहीबार बिहान डा. कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले समितिको निर्णय पार्टी विधानविपरीत भएको ठहर गर्दै त्यसलाई मान्न नसकिने निष्कर्ष निकालेको हो। बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य सञ्जय गौतमलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।
केन्द्रीय सदस्य गौतमका अनुसार कारबाही एकपक्षीय र विधानविपरीत भएकोले सभापति शेरबहादुर देउवालाई त्यसलाई कार्यान्वयन नगर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ।
बैठकले कारबाहीमा परेका नेताहरूलाई अन्याय हुन नदिने, न्यायको पक्षमा मजबुत राजनीतिक प्रतिकार गर्ने तथा कारबाहीको निर्णयलाई स्वीकार नगर्ने रणनीति अख्तियार गरेको बताइएको छ।
उपसभापति गुरुङले हाल अनुशासन समितिको फाइल नचलाउने सहमति पार्टी शीर्ष नेताहरूबीच भएको स्मरण गराउँदै संयोजक आनन्द ढुङ्गानाले समितिभित्र छलफल नगरी एकाएक प्रेस विज्ञप्ति निकालेर कारबाही गर्नु अनुचित भएको बताएका छन्।
शेखर समूहको यस्तो स्पष्ट असहमति पार्टीभित्रको आन्तरिक विवाद थप चर्किने संकेतका रूपमा हेरिएको छ।
