काठमाडौँ महानगरपालिकाको कार्यालय अहिले पूर्ण रूपमा ठप्प छ। विद्युत् आपूर्तिमा आएको समस्या कारण सबै सेवा स्थगित भएको हो।
महानगरभित्रको आन्तरिक वायरिङ प्रणालीले अत्यधिक लोड थेग्न नसक्दा विद्युतीय आपूर्ति अवरुद्ध भएको र त्यसकै कारण सेवा प्रवाहमा अवरोध आएको एक कर्मचारीले बताए।
उनका अनुसार, महानगरको कार्यालय रहेको भवन पहिले दुई फरक–फरक संरचनाका रूपमा सञ्चालनमा थियो। तर पछिल्लो समय दुवै भवनलाई गाभेर एउटै कार्यालय बनाइएपछि एउटै सर्किटमार्फत काम गर्दा विद्युत् भार असह्य बनेको हो।
हिजो भुक्तानीको अन्तिम दिन भएकाले कम्प्युटर, बत्ती र एसीजस्ता उपकरणहरू एकैपटक चल्दा पुरानो वायरिङले लोड थेग्न नसकेको कर्मचारीको भनाइ छ।
हाल प्राविधिक टोलीले मर्मतको काम गरिरहेको र चाँडै समस्या समाधान भई सेवा पुनः सुचारु हुने जानकारी दिइएको छ।
