राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोट सम्बन्धी कार्यविधि अनुमोदन गरेको र उक्त कार्यविधि केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार, अब केही दिनभित्र इच्छुक व्यक्तिहरूबाट औपचारिक आवेदन माग गरिनेछ। प्राप्त आवेदनहरूको समीक्षा र मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया अघि बढाइने छ।
साथै, बैठकले सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ उपनिर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया सम्हाल्ने जिम्मेवारी दिएको छ।
रास्वपाले समयमै योग्य उम्मेदवार चयन गरी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने तयारी थालेको संकेत दिएको छ।
