पोखरा विश्वविद्यालयको २५ औँ साधारणसभाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५४ करोड रुपैयाँको बजेट र नयाँ नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले शिक्षक, कर्मचारी, सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी पुराना नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको हो।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमुखी र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै गुणस्तरीय उच्च शिक्षा दिनुपर्नेमा जोड दिए। साथै, उनले देशमै उत्कृष्ट शिक्षाको सम्भावना साकार पार्नुपर्ने धारणा राखे।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विश्वविद्यालयलाई २१औँ शताब्दीका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहन आग्रह गरे। उपकुलपति प्रा. डा. वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालयले उपलब्ध स्रोत साधन प्रयोग गरी अन्तर्राष्ट्रिय बजारको आवश्यकता अनुसार शिक्षा दिन प्रतिवद्ध रहेको बताए।
हाल विश्वविद्यालयमा चार वटा सङ्काय अन्तर्गत चार आङ्गिक महाविद्यालय, तीन संयुक्त आङ्गिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमार्फत ६८ शैक्षिक कार्यक्रममा ३४ हजार ६७९ विद्यार्थी अध्ययनरत छन्।
