भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवागढी भन्सार क्षेत्र तहसनहस बनाएको घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि रसुवा जान लागेका छन्।
प्रधानमन्त्री ओली मंगलबार अपराह्नतिर रसुवातर्फ प्रस्थान गर्ने तयारीमा रहेको जानकारी प्रधानमन्त्री सचिवालयका एक सदस्यले दिएका छन्।
उनका अनुसार गृहमन्त्री रमेश लेखकलाई पनि साथमा लिएर प्रधानमन्त्री रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकन गर्न जाने कार्यक्रम तय गरिएको हो।
यद्यपि, जाने समयको ठोस निर्धारण भने अझै भइसकेको छैन। बाढीले पुर्याएको क्षति प्रत्यक्ष रूपमा बुझ्न र राहत तथा पुनःस्थापनासम्बन्धी योजना बनाउन प्रधानमन्त्रीको यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
