×

हिन्दु धर्मावलम्बीको तिहारलाई जीवन्त राख्न ११ वर्षदेखि एक मुस्लिम युवाको एकल प्रयास, आफ्नै लगानीमा सांस्कृतिक उत्सव

खालीपाना न्युजडेस्क | ५६ मिनेट अगाडि

रुपन्देही । केही वर्षअघिसम्म तिहारको लक्ष्मीपूजाका दिन भैरहवा बजारमा पाइला राख्ने ठाउँ हुँदैनथ्यो । बैंक रोड, गल्लामण्डी र मैत्रीपथ झिलिमिली बत्तीले चम्किन्थे । पसलअगाडि केराका खम्बा गाडेर बाँसका घेरा बनाइन्थ्यो । गेरुले घरको आँगन लिपेर त्यसभित्र माटाका दियो बालेर गरिने सजावटले बजारलाई छुट्टै सौन्दर्य दिन्थ्यो । ठाउँठाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे । आवारोड, मैत्रीपथ र मिलनचोकमा हुने नाचगान हेर्न मानिसको भीड लाग्थ्यो ।

तिहारको साँझ आठ बजेपछि भैरहवाका सडकमा मानिसको चहलपहल बढ्थ्यो । रुपन्देही मात्रै होइन, कपिलवस्तु, नवलपरासी र सीमापारि भारतबाट समेत मानिसहरू दीपावलीको रौनक हेर्न भैरहवा आइपुग्थे । फोटो स्टुडियोमा तस्बिर खिचाउन पालो कुर्नुपर्थ्यो । पसलहरू रातिसम्म खुला रहन्थे । तिहार केवल घरघरमा मनाइने पर्व थिएन, सिंगो सहरलाई जोड्ने उत्सव थियो ।

समय फेरियो । बजारको स्वरुप फेरियो । आधुनिक सजावट र प्रविधिले ठाउँ लिएसँगै पुराना मौलिक परम्परा पनि ओझेलमा पर्न थाले । कुनै समय तिहारको रौनकले भरिने भैरहवा अहिले लक्ष्मीपूजाकै दिन पनि तुलनात्मक रुपमा सुनसान देखिन थालेको छ । बाहिरबाट आउने दर्शकको संख्या घटेको छ । बजारमा चाडपर्वको सामूहिक उत्साह पनि कमजोर हुँदै गएको छ ।

यही हराउँदै गएको रौनक फर्काउने सपना देखेका छन्, भैरहवाका युवा व्यवसायी रहिश खानले । रोचक त के छ भने, हिन्दु धर्मावलम्बीको प्रमुख पर्व तिहारको सांस्कृतिक रौनक जोगाउन १९ वर्षदेखि साउण्ड र म्युजिक व्यवसायमा सक्रिय एक मुस्लिम युवा विगत ११ वर्षदेखि एक्लै जुटिरहेका छन् ।

युनिक साउण्डका सञ्चालक खानका लागि यो केवल मनोरञ्जनको कार्यक्रम होइन, आफ्नो सहरको पहिचान र सामाजिक सद्भावसँग जोडिएको अभियान हो ।

‘एउटा फूलबारीमा विभिन्न जातका फूलहरु मिलेर सुन्दरता थपेझैँ सबै धर्मलाई समान माया गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ खान भन्छन्, ‘भैरहवाको पुरानो रौनक फेरि फर्कियोस् भन्ने उद्देश्यले ११ वर्षदेखि यो काम गरिरहेको छु ।’

बाल्यकालमा साथीहरुसँग दीपावलीका मेला घुम्न जानु रहिशका लागि विशेष उत्सव हुन्थ्यो । बजारको सजावट, सांस्कृतिक कार्यक्रम, मानिसको भीड र चाडपर्वको उल्लासले उनलाई आकर्षित गर्थ्यो । समयसँगै ती दृश्य हराउँदै गएपछि उनको मनमा एउटा प्रश्न उठ्न थाल्यो– पहिले जस्तो दीपावलीको रौनक फेरि किन नफर्काउने ?

त्यही प्रश्नले उनलाई आफ्नै प्रयासमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सोचसम्म पुर्‍यायो । साउण्ड र म्युजिकको व्यवसायमा भएकाले प्राविधिक व्यवस्थापन गर्न आफूलाई सहज हुने उनको बुझाइ थियो । तर एउटा व्यक्तिको प्रयासले सिंगो सहरको उत्सवलाई फेरि जीवन्त बनाउन सकिन्छ भन्ने विश्वास गर्नु आफैँमा चुनौतीपूर्ण थियो ।

पहिलो वर्ष कार्यक्रम गर्दा उनले अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया पाए । दोस्रो वर्ष झन् उत्साहजनक साथ मिल्यो । धेरैले उनको एकल प्रयासको प्रशंसा गरे । “भाइले एक्लै यस्तो काम गरेछन्‌” भन्ने प्रतिक्रियाले उनलाई थप हौसला दियो ।

त्यसपछि यो कार्यक्रम उनको वार्षिक अभियानजस्तै बन्यो । वर्ष फेरिँदै गए, कार्यक्रमको आकार र जिम्मेवारी पनि बढ्दै गयो। यस वर्ष उनी एघारौँ संस्करणको तयारीमा छन् ।

रहिशको यो प्रयासको विशेषता केवल तिहारमा कार्यक्रम आयोजना गर्नुमा सीमित छैन । एउटा मुस्लिम युवाले हिन्दु समुदायको पर्वलाई आफ्नो सहरको साझा उत्सवका रुपमा आत्मसात् गर्नु आफैँमा सामाजिक सद्भावको उदाहरण बनेको छ ।

उनका लागि धर्म फरक हुन सक्छ, तर सहर एउटै हो । चाडपर्वको खुसी पनि सबैले बाँड्न पाउनुपर्छ । त्यसैले उनले आयोजना गर्ने कार्यक्रममा हिन्दु समुदायको पर्वलाई सम्मान गर्दै सबै धर्म र समुदायका मानिसलाई सहभागी हुन आह्वान गरिन्छ । ‘मैले यसलाई धर्मसँग जोडेर हेरेको छैन । भैरहवाको पहिचान र यहाँको पुरानो संस्कृति जोगाउने प्रयास गरेको हुँ,’ उनी भन्छन् ।

उनको अर्को उद्देश्य स्थानीय कलाकारलाई मञ्च उपलब्ध गराउनु पनि हो । गायन, नृत्यलगायत विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत स्थानीय प्रतिभाले आफ्नो कला देखाउने अवसर पाउँछन् । राष्ट्रिय कलाकारको प्रस्तुतिले दर्शकलाई थप आकर्षित गर्छ ।

यस वर्ष पनि चर्चित राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । तर कलाकारको नाम सार्वजनिक नगरी मञ्चबाटै सरप्राइज दिने पुरानो शैलीलाई आयोजकले निरन्तरता दिएका छन् ।

११ वर्षसम्म निरन्तर कार्यक्रम आयोजना गर्नु सजिलो छैन । त्यसमा पनि सरकारी अनुदान वा संस्थागत आर्थिक सहयोगबिना आफ्नै लगानीमा यस्तो उत्सवलाई निरन्तरता दिनु थप चुनौतीपूर्ण काम हो ।

खानका अनुसार अहिलेसम्म उनले यस अभियानमा करोड भन्दा बढी खर्च गरिसकेका छन् । यस वर्षको कार्यक्रमका लागि मात्रै १० लाख रुपैयाँभन्दा बढी लगानी हुने अनुमान छ । व्यवसायबाट हुने आम्दानीको केही हिस्सा भैरहवाको सांस्कृतिक गतिविधि र बजारको प्रवद्र्धनमा खर्च गर्ने गरेको उनी बताउँछन् । ‘मैले कुनै सरकारी निकाय वा अन्य कसैसँग एक रुपैयाँ पनि सहयोग मागेको छैन,’ उनी भन्छन् ।

यद्यपि, यो यात्रामा प्रशंसा र प्रोत्साहन मात्रै छैनन् । कार्यक्रम आयोजना गर्न नौदेखि १० दिनसम्म पूर्वतयारी गर्नुपर्ने हुन्छ । सडकको एक भागमा मञ्च निर्माण, सजावट, विद्युत् व्यवस्थापन, ध्वनि प्रणाली, कलाकारको व्यवस्थापन र सुरक्षा समन्वय गर्नुपर्ने हुन्छ । यसका लागि विभिन्न निकायसँग समन्वय आवश्यक पर्छ ।

कार्यक्रमस्थलमा ट्रक, एम्बुलेन्स र दमकल आवतजावत गर्न सक्ने बाटो खुला राख्ने गरिएको उनको दाबी छ । रातिको समयमा कार्यक्रम सञ्चालन गरेर दिनको व्यापार र सर्वसाधारणको आवागमनमा अवरोध नहोस् भन्नेमा पनि आफूहरू सचेत रहेको उनी बताउँछन् ।

तर, प्रहरी, प्रशासन र ट्राफिक व्यवस्थापनसँग जोडिएका समस्याले पछिल्ला वर्षमा उनको उत्साह कमजोर बनाएको छ । स्थानीय व्यापारी र नगरवासीबाट खासै विरोध नआए पनि बाहिरबाट केही व्यक्तिले तस्बिर खिचेर ट्राफिक तथा प्रशासनमा पठाउने र त्यसपछि विभिन्न किसिमका दबाब सिर्जना हुने गरेको उनको गुनासो छ ।

पछिल्ला चार–पाँच दिनदेखि प्रहरी, प्रशासन र ट्राफिकको दबाबका कारण कार्यक्रम नै रोक्ने तथा सजावटका संरचना खोल्ने अवस्थासम्म पुगेको उनी सुनाउँछन् । ‘कसैलाई असुविधा नहोस् भनेर राति काम गर्छौं । एम्बुलेन्स, दमकल र ट्रक छिर्ने बाटो पनि खुला राख्छौँ । तर, यति गर्दा पनि समस्या भोग्नुपरेपछि अब यस्तो कार्यक्रम गर्ने कि नगर्ने भन्ने दोधारमा पुगेको छु,’ खानको दुखेसो छ ।

उनको भनाइमा, कार्यक्रमलाई व्यवस्थित बनाउन प्रशासनको सहयोग र सहजीकरण आवश्यक छ । नियम र सुरक्षा मापदण्ड पालना गर्दै सहरको सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन सकिने वातावरण बनाइनुपर्छ ।

यस वर्षको ‘युनिक दीपावली फेस्टिभल–२०८३’ आगामी कार्तिक २२ गते भैरहवाको मिलनचोकमा आयोजना हुँदैछ । साँझ ६ बजेदेखि मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रममा गायन, नृत्य र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सडकको एक भागमा मञ्च निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक र आसपासका क्षेत्रलाई झिलिमिली बत्ती तथा आकर्षक सजावटले सिँगारिँदैछ । आयोजकले ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेका छन् । रुपन्देहीसहित छिमेकी जिल्ला र सीमापारि भारतबाट समेत दर्शक आउने विश्वास गरिएको छ ।

कार्यक्रमलाई उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गर्दै आएको छ । संगठनका अध्यक्ष सचिन रोक्का रहिशको एकल प्रयासलाई प्रशंसनीय मान्छन् । सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग समन्वय गराउन संगठनले सहयोग गर्दै आएको उनले बताए ।

‘अहिलेको आर्थिक अवस्था, सुरक्षा र अन्य विभिन्न कारणले संस्थागत रुपमा अपेक्षित सहयोग जुटाउन कठिनाइ छ । तर भैरहवामा विगतमा मनाइने तिहारलाई फेरि चलायमान बनाउन हामी प्रयासरत छौँ । यसमा रहिश भाइको ठूलो योगदान छ,’ रोक्का भन्छन् ।

उनका अनुसार तिहारको पुरानो रौनक फर्काउन व्यक्तिगत प्रयाससँगै उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था र स्थानीय सरकारको पनि उत्तिकै जिम्मेवारी छ ।

रहिशको सपना यस वर्ष ५० हजार मानिस भेला गराउनु मात्रै होइन । उनी भैरहवामा फेरि त्यही पुरानो दीपावली देख्न चाहन्छन्, जहाँ धर्म, समुदाय र क्षेत्रको सीमा बिर्सेर मानिसहरू एउटै उत्सवमा रमाउन सकून् । बजारका पसलहरु झिलिमिली होऊन्, सडकमा चहलपहल बढोस् र चाडपर्वले सिंगो सहरलाई जोडोस् ।

एउटा मुस्लिम युवाले हिन्दुहरूको तिहारमा आफ्नै लगानी र पसिनाले उज्यालो थप्ने प्रयास गरिरहँदा उनको अभियानले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ– संस्कृति कुनै एक धर्म वा समुदायको मात्रै सम्पत्ति होइन, यो साझा समाजको पहिचान हो ।

भैरहवाको हराउँदै गएको तिहारलाई फेरि जीवन्त बनाउने रहिशको यो ‘दीपावली सपना’ पूरा हुन उनलाई व्यक्तिगत उत्साहसँगै सिंगो सहरको साथ चाहिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.