रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेदिक स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ ।
लिखु तामाकोशी गाउँपालिकाको धोबी स्वास्थ्य चौकीमा एक दिने आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।
चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा भएको शिविरमा दुई सयले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा डा. सविता भण्डारीको नेतृत्वमा गएको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । सो शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । सो कार्यमा स्वास्थ्य चौकी धोबीको स्वास्थ्यकर्मीले पनि सहयोग गरेका थिए ।
उपचारका लागि लिखु तामाकोशी गाउँपालिकाको वडा नं २, ३, ४ र ५ का बिरामीहरू आएका चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोले जानकारी दिए ।
बिरामीको स्वास्थ्य जाँचसँग निःशुल्क रूपमा आयुर्वेदिक औषधिहरू वितरण गरिएको चिकित्सालयका फार्मेसी सहायक प्रमोद पोखरेलले जानकारी दिए ।
शिविरमा अम्लपित्त, ग्यास्ट्रिक, पेट सम्बन्धी रोग, श्वास कास, पिनास, छाती सम्बन्धी रोग, हाडजोर्नि तथा नशा रोग, पायल्स, फिसर, फिस्टुला, उच्च रक्तचाप, मधुमेह, बाथ रोग तथा पाठेघर सम्बन्धी रोगको नि:शुल्क चेकजाँच तथा नि:शुल्क आयुर्वेदिक औषधी वितरण गरिएको चिकित्सालयका चिकित्सक डा. उत्तम गैरेले जानकारी दिए ।

