×

जेनजी युवाको ‘छहारी फार्म’: फूड फरेस्ट, अर्गानिक सख्खर र एग्री–टेक दृष्टिकोणमार्फत दिगो कृषि मोडेल

खालीपाना न्युजडेस्क | ५ महिना अगाडि

काठमाडौं । कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका छन् । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उनी पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहेका छन् ।

प्रारम्भमा ४–५ लाख रुपैयाँ पारिवारिक सहयोगमा कृषिपेशा सुरु गरेका नेपालले अहिले ११ युवाको सहकार्यमा सिन्धुलीमा करिब ३०–३५ लाख रुपैयाँ लगानीसहित करीब १० बिघा जमिनमा ‘फूड फरेस्ट’ तथा पर्यावरणीय कृषि अनुसन्धान केन्द्र सहितको छहारी फार्म सुरु गरेका छन् ।
उनको फार्ममा फलफूलको ठूलो बगैँचासहित पूर्ण रुपमा प्राङ्खारीक विधिको तरकारी खेती, पशुपालन, मत्स्यपालन तथा समग्र पर्यावरणीय कृषिसम्बन्धी अभ्यास र अध्ययन सँगसँगै सञ्चालन भइरहेको छ । दिपेशका अनुसार यो केन्द्रले उत्पादन मात्र होइन, अध्ययन–अनुसन्धान र तालिमसमेत प्रदान गर्ने लक्ष्य राखेको छ ।

उनको टीमले खेती गरिरहेको फार्ममा केहि समय अघिसम्म ‘प्राकृतिक कृषि तथा जडीबुटी सहकारी संस्था’ ले प्राकृतिक खेतीको सहकारी मोडेल सुरु गरेको थियो । तर उक्त सहकारीले आफ्नो योजना अनुसार काम गर्न नसकेपछि दिपेशसहितका युवाहरूले उक्त सपनालाई नयाँ ढंगले पुनर्जीवित गर्दै फराकिलो अवधारणामा ‘फूड फरेस्ट’ सहितको योजना विकास गरेका हुन् ।

उनको टोलीमा संलग्न रहेका ११ जना युवाहरु मध्ये अधिकांश जेनजी उमेर समूहका छन् । यस फार्मको चर्चित उत्पादनमध्ये ‘छारीको कोसेली’ ब्रान्डको सख्खर (गुड़) पनि एक हो । सर्लाहीका अर्गानिक उखु उत्पादक किसान जंगबहादुरसँगको सहकार्यबाट यो अवधारणा जन्मिएको दिपेशले बताए । अर्गानिक उखुले चिनी मिलमा उचित मूल्य नपाउने र भुक्तानीसमेत ढिला हुने समस्याबाट समाधान खोज्दै सख्खर उत्पादनको ट्रायल सुरु गरिएको दिपेश बताउँछन् ।

छहारीले उत्पादन गरीरहेको सख्खरमा कुनैपनि रसायन प्रयोग नगरी जंगली भिन्डीको रस प्रयोग गरिएको दिपेशले बताए । ‘उखुको रस उमाल्दा देखिने फोहोरलाई तल थिग्राउन भिन्डीको भिजाएको पानी प्रयोग गरिन्छ, जसले प्राकृतिक रूपमा फोहोर सेटल गराउँछ,’ दिपेशले भने । ‘त्यसपछि पुनः उमालेर र घोटेर सख्खर तयार गरिन्छ । यस प्रक्रियामा उखुको रस र जंगली भिन्डीबाहेक अन्य कुनै रसायन प्रयोग हुँदैन् ।’
सख्खर उत्पादनमा प्रयोग गरिने उखु विगत तीन वर्षदेखि कुनै रसायन वा विषादी प्रयोग नभएको जमिनमा उत्पादन गरिएको छ । ‘अर्गानिक भन्नु भनेको पोस्ट–हार्भेस्ट मात्र होइन, गर्भदेखि नै अर्गानिक हुनुपर्छ,’ उनले स्पष्ट पारे ।

भण्डारणका लागि माटोको भाँडा प्रयोग गरिन्छ, जुन आयुर्वेदअनुसार दीर्घकालीन संरक्षणका लागि उपयुक्त मानिन्छ । प्याकेजिङमा नेपाली माटो र स्वदेशी जुटको बोरा प्रयोग गरिएको छ । यसरी कच्चा पदार्थदेखि प्याकेजिङसम्म स्वदेशी सामग्री प्रयोग गर्दै पूर्ण रूपमा रसायनमुक्त उत्पादन बजारमा ल्याइएको दिपेशले बताए ।

यस मोडेलमा उखु किसान, उखु पेल्ने स्थानीय उद्यमी, माटोको भाँडा बनाउने कारीगर र छहारी फार्म स्वयं साझेदार छन् । किसान जंगबहादुरलाई समेत शेयरहोल्डर बनाइएको छ । नाफा र जोखिम दुवै पक्षले बाँड्ने यस संरचनालाई दिपेशले ‘सर्कुलर इकोनोमी’ को नमुना भएको बताएका छन्।

हाल काठमाडौँ लगायतका मुख्य सहरमा सख्खरको माग बढ्दो रहेको दिपेशको भनाइ छ । चिनीको अत्यधिक प्रशोधन र स्वास्थ्य जोखिमप्रति सचेत उपभोक्ताहरू वैकल्पिक मिठोपनतर्फ आकर्षित भइरहेका छन् । उपभोक्ताको विश्वास बढाउन सख्खरको बट्टामा ‘कथा मिठो सख्खरको’ शीर्षकसहित क्यूआर कोड राखिएको छ । कोड स्क्यान गर्दा त्यसमा उत्पादन प्रक्रिया सम्बन्धी सम्पुर्ण भिडियो हेर्न सकिने उनले बताए ।

दिपेश नेपालका अनुसार युवाहरू उत्पादन, अनुसन्धान र बजारलाई एउटै चक्रमा जोडेर अघि बढेमा दिगो कृषि अर्थतन्त्र सम्भव छ । ‘नाफा पनि बाँडिने, जोखिम पनि बाँडिने मोडेलले दीर्घकालीन प्रेरणा दिन्छ,’ उनले भने । सिन्धुलीबाट सुरु भएको यो पहलले प्राकृतिक खेती र अनुसन्धानलाई व्यवहारमा जोड्दै नयाँ पुस्ताका किसानका लागि उदाहरण प्रस्तुत गरेको छ ।

पहिलो वर्ष २४०० केजी उत्पादन

दिपेशको टिमले यस वर्ष २,४०० केजी सख्खर उत्पादन गर्दै बजारमा ल्याएको जनाएको छ । उनका अनुसार सख्खरको प्रयोग र विकासको लामो इतिहास ‘ट्रायल एन्ड एरर’ प्रक्रियाबाट गुज्रिएको छ र यसको औषधीय तथा सांस्कृतिक महत्व पनि उत्तिकै रहेको छ ।

दिपेशले सख्खर केवल गुलियो पदार्थ मात्र नभई स्वास्थ्यका दृष्टिले लाभदायक विकल्प भएको उनले दाबी गरे । उनका अनुसार परापूर्वकालदेखि सख्खर र अदुवा कफ नियन्त्रण, चिसो मौसममा शरीर तताउन तथा घरेलु उपचारका रूपमा प्रयोग हुँदै आएको छ । ‘सख्खर खानका लागि डराउनुपर्ने वस्तु होइन, बरु सचेत रूपमा उपभोग गर्नुपर्ने परम्परागत र स्वास्थ्यकर विकल्प हो,’ उनले भने ।

यस वर्ष उत्पादन बढाउन नसक्नुको मुख्य कारण रसायनरहित उखुको अभाव रहेको उनले बताए । नेपालमा उखु उत्पादन प्रशस्त भए पनि युरिया र रासायनिक मलको व्यापक प्रयोग हुने भएकाले आवश्यक कच्चा पदार्थ संकलनमा चुनौती देखिएको छ । आगामी वर्ष अन्य किसानसँग सहकार्य गरी उत्पादन दायरा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

छहारीको सख्खरको मुख्य बजार काठमाडौं भए पनि मागअनुसार पोखरा, चितवन, बुटवल र दाङसम्म पुर्याइएको छ । छहारीले परम्परागत भेन्डर प्रणालीभन्दा डिजिटल मार्केटिङमा जोड दिएको छ । सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार, एक्स्पोमा सहभागिता तथा प्रत्यक्ष उपभोक्तासँग सम्पर्क विस्तार गरेर बिचौलियाको मार्जिन घटाउने रणनीति अपनाइएको छ ।

छहारीले सख्खरका साथै भूइँकटहर, एप्पल बयर, रुख कटहर तथा तरकारीजन्य उत्पादनहरू पनि ठूलो परिमाणमा बजारमा ल्याउने तयारी गरेको छ । युवा टोली प्रत्यक्ष उपभोक्तासम्म गुणस्तरीय कृषि उपज पु¥याउने लक्ष्यसहित काम गरिरहेको बताइएको छ ।

लागतका दृष्टिले भने रसायनरहित सख्खर केही महँगो पर्न जान्छ । उत्पादन प्रक्रियामा बारम्बार सरसफाइ र छान्ने काम गर्नुपर्ने तथा कच्चा पदार्थको करिब आधा भाग मलका रूपमा छुट्याउनुपर्ने भएकाले लागत बढ्ने गरेको छ । साथै माटोको भाँडामा प्याकेजिङ गर्दा श्रम र खर्च दुवै बढ्ने उनले बताए । तर गुल्मी वा संखुवासभाको सख्खरसँग तुलना गर्दा भने आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको दाबी उनले गरे।

कृषि विषयमा स्नातक अध्ययनपछि पूर्णकालीन किसान

कृषि विषयमा स्नातक अध्ययन पूरा गरेपछि तीन वर्षअघि कृषि कर्ममा लागेका दिपेश नेपाल अहिले पूर्णकालिन किसानका रूपमा सक्रिय छन् । सुरुवातमा अल्पकालिन रूपमा खेती गर्दै आएका नेपालले पछिल्ला दुई वर्षयता पूर्णकालिन रूपमा कृषि पेशा अँगालेका हुन् ।

अध्ययनका क्रममा र त्यसपछि पनि पर्यावरणीय कृषि सम्बन्धी एड्भोकेसीमा संलग्न रहेका उनले ‘यो क्षेत्र गफले मात्र अगाडि बढ्दैन, पढेका युवाले नै खेतमा उत्रनुपर्छ’ भन्ने निष्कर्षपछि व्यावसायिक रूपमा खेती सुरु गरेको बताए ।

उनका अनुसार सुरुवाती चरणमा परिवारको सहयोगमा करिब ४–५ लाख रुपैयाँ लगानीमा खेती थालिएको थियो । तर पारिवारिक संरचनाबाट ठूलो परिमाणमा उत्पादन सम्भव नभएपछि साथीहरुसाग मिलेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गरेका हुन् । उक्त फार्मलाई फूड फरेस्ट तथा पर्यावरणीय कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने काम भइरहेको उनले जानकारी दिए ।

नेपालमा पर्यावरणीय तथा प्राकृतिक कृषिको सम्भावना ठूलो भए पनि व्यावहारिक अभ्यास र अनुसन्धान केन्द्रको अभाव रहेको छ । ‘छहारी फार्म’लाई उत्पादनमूलक सिकाइ केन्द्रका रूपमा विकास गर्दै स्थानीय स्तरमै दिगो कृषि प्रणाली स्थापित गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार यो पहल केवल व्यावसायिक खेती मात्र नभई युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने अभियान पनि हो । ‘कृषि पढेका युवाहरू विदेशिने होइन, यहीँ प्रयोग गरेर देखाउनुपर्छ भन्ने हाम्रो सोच हो,’ उनले भने ।

एग्री–टेकबाट उत्पादन, बजार र पर्यटन जोड्न सकिन्छ
नेपालको आर्थिक वृद्धि कृषि उत्पादन, बजारिकरण र पर्यटनको समन्वयबाट सम्भव हुने दिपेशले बताएका छन् । उनका अनुसार यी तीनवटै क्षेत्रलाई जोड्ने माध्यमका रूपमा एग्री–टेक स्टार्टअपहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

उनले भने, ‘नेपालको अर्थतन्त्र वृद्धि गर्न दुई मुख्य आधार उत्पादन र त्यसको प्रभावकारी बजारिकरण हो, र यससँग जोडिएको पर्यटन । यी सबैलाई कनेक्ट गर्ने पुल नै एग्री–टेक हो ।’ उनका अनुसार एग्री–टेक केवल डिजिटल प्लेटफर्म मात्र नभई उत्पादन, प्रशोधन, आपूर्ति श्रृंखला र बजार पहुँचलाई जोड्ने प्रविधिगत प्रणाली हो, जसले कृषि क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्छ ।

उनले नेपालमा एग्री–टेक स्टार्टअपको सम्भावना प्रशस्त रहेको उल्लेख गरे । तर स्रोतहरूको स्थानीय उपलब्धता र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘हामीले प्रयोग गर्ने स्रोत कति स्थानीय छन् भन्ने कुरा विचार गरियो भने स्टार्टअपको जोखिम घटाउन सकिन्छ,’ उनले भने ।

सरकारी नीतिगत पक्षमा भने सुधार आवश्यक रहेको उनले बताए । कृषि उत्पादनका लागि जग्गा अत्यावश्यक भए पनि सरकारले जग्गा उपलब्ध गराउने स्पष्ट संयन्त्र विकास गर्न नसकेको उनको गुनासो छ । भूमि बैंक जस्ता अवधारणाहरू अघि सारिए पनि प्रभावकारी कार्यान्वयन नभएको उनले उल्लेख गरे । त्यस्तै, जग्गा भाडा सम्झौताको स्पष्ट प्रणाली नहुँदा उद्यमीहरू अन्योलमा पर्ने अवस्था रहेको बताए ।

नेपालका अनुसार कम्पनी दर्ता प्रक्रिया जटिल हुनु र सुरुवाती पूँजीको अभावले पनि युवाहरूलाई उद्यममा लाग्न अवरोध गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कोल्याटरलको रूपमा मुख्यतः जग्गा नै माग्ने भएकाले युवाहरूलाई ऋण प्राप्त गर्न कठिन हुने गरेको उनले बताए । ‘युवासँग जोस हुन्छ तर पूँजी हुँदैन । बैंकले योजना हेरेर होइन, धितो हेरेर ऋण दिन्छ,’ उनले भने ।

सरकारले हालै ल्याएको सीमित स्टार्टअप ऋण कार्यक्रम सकारात्मक भए पनि त्यसले सीमित संख्यामा मात्र लाभ दिने उनको भनाइ छ । हजारौँ आवेदकबीच करिब ५/६ जनालाई मात्र ऋण उपलब्ध गराउने व्यवस्था पर्याप्त नभएको उनले बताए। ‘यस्ता कार्यक्रमको दायरा बढाउनुपर्छ । दर्ता प्रक्रिया र लिज प्रणाली सरल बनाइयो भने युवाहरू नेपालमै बसेर उद्यम गर्न उत्साहित हुन्छन्,’ नेपालले आग्रह गरे ।

हाल उनी स्वयं लिजमा खेती गरिरहेका छन् र बैंकबाट ऋण लिएका छैनन् । परिवारकै सहयोगमा कृषि व्यवसाय सञ्चालन भइरहेको उनले बताए। उनका अनुसार एउटा मोडेल रैथाने कृषि उपज उत्पादन केन्द्रका रूपमा र अर्को व्यावसायिक पर्यावरणीय कृषि उत्पादनका रूपमा विकास गरिँदैछ।

पछिल्लो समय कृषि क्षेत्रमा युवा सहभागितालाई सामाजिक स्वीकारोक्ति बढ्दै गएको उल्लेख गर्दै सरकारलाई यही समयमा नीतिगत सुधारमार्फत युवाको ऊर्जा उद्यमशीलतामा रूपान्तरण गर्न उनले आह्वान गरे । ‘जेनजी पुस्ताको ऊर्जा सही दिशामा लगाउन सके कृषि क्षेत्र नै नेपालको आर्थिक समृद्धिको इन्जिन बन्न सक्छ,’ उनले निष्कर्ष दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.