२५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अत्यन्तै आवश्यक भइसकेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा उनले विविध जातजाति, भाषाभाषी, धर्म, संस्कृति, राजनीतिक दल, गुट र व्यक्तिलाई एउटै छहारीमा राखेर देशलाई अगाडि बढाउन राजसंस्थाको भूमिका अपरिहार्य हुने धारणा राखे।
मिश्रले देशलाई नयाँ समझदारीतर्फ लैजानुपर्ने र त्यसका लागि राजसंस्थासहितको व्यवस्थामा सहमति आवश्यक रहेको बताए। उनका अनुसार यो आवश्यकता अहिलेको पुस्ताका लागि मात्र नभई भावी पुस्ताको भविष्यसँग पनि जोडिएको विषय हो।
उनले दीर्घकालीन स्थिरता र समाधानका लागि मतदाताले यसपटक राप्रपालाई रोज्नुपर्ने तर्क गरे। फरक निर्णय नभए उही समस्या दोहोरिरहने र प्रत्येक चुनावपछि पनि जनअपेक्षा पूरा नहुने अवस्था कायम रहने उनको भनाइ थियो।
मिश्रले अब मुलुकलाई समस्याको घेराबाट निकालेर समाधानको दिशातर्फ अघि बढ्न नयाँ राजनीतिक समझदारी अपरिहार्य रहेको उल्लेख गरे।
