×

एकता भाँडिनुको कारण खुलाउँदै रवि लामिछाने, रास्वपाले सहमति अनुमोदन नगर्ने निर्णय

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग असफल बनेको एकता प्रक्रियाबारे पार्टीको आन्तरिक बैठकमा स्पष्ट पारेका छन्।

हाल रास्वपाको आकस्मिक सचिवालय बैठक भर्चुअल माध्यमबाट जारी छ। बैठकको प्रारम्भमै सभापति लामिछानेले उज्यालो नेपाल पक्ष, विशेषगरी कुलमान घिसिङ समूहबाट पछिल्लो समय आएका मागहरूबारे विस्तृत जानकारी गराएका थिए।

बैठकमा भएको छलफलपछि सचिवालयले उज्यालो नेपाल पार्टीसँग भएको सहमति अनुमोदन नगर्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। उक्त निर्णयमा पार्टीका वरिष्ठ नेता बालेन शाहको समेत सहमति रहेको बताइएको छ।

स्रोतका अनुसार, बारम्बार नयाँ प्रस्ताव र थप शक्ति बाँडफाँडको माग आउन थालेपछि एकता प्रक्रिया अघि बढाउन असम्भव भएको निष्कर्ष नेतृत्व तहले निकालेको हो। सभापति लामिछानेले बैठकमा “हरेक दिन नयाँ माग थपिँदै गएपछि सहकार्य सम्भव रहेन” भन्ने आशय व्यक्त गरेको बताइन्छ।

यता, रास्वपासँगको एकता प्रक्रिया टुटेपछि उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठकपछि कुलमान घिसिङसहितको टोलीले पत्रकार सम्मेलन गर्ने तयारी रहेको जानकारी दिइएको छ। सो पार्टीले कुलमान घिसिङलाई अध्यक्षको जिम्मेवारी समेत दिएको छ।

यसअघि रास्वपासँग कुलमान घिसिङलाई उपसभापति बनाउने सहमति भए पनि पदाधिकारी र केन्द्रीय सदस्यको बाँडफाँडमा सहमति जुट्न सकेको थिएन। उज्यालो नेपाल पक्षले समानुपातिक उम्मेदवारसम्बन्धी प्रारम्भिक सहमति कार्यान्वयन नभएको गुनासो गर्दै आएको छ।

रास्वपा पक्ष भने पछिल्ला संवादका क्रममा कुलमान घिसिङ पूर्व सहमतिबाट पछि हटेको दाबी गर्दै आएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x